
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।
सम्झौतामा नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका हुन्। सम्झौतामा चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना तथा सेवा प्रवाह सुधारका विषय समेटिएका छन्।
डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ जिल्लाका प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रमुखहरूले पनि सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकता नभई प्रहरी सेवामा चुस्तदुरुस्त, पारदर्शी र परिणाममुखी सुधार ल्याउने महत्वपूर्ण माध्यम भएको बताए। उनले योजनाबद्ध ढंगले लक्ष्य कार्यान्वयन गर्न निर्देशन दिँदै सम्झौता सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी प्रहरी प्रमुखहरूले आफ्ना क्षेत्रमा वार्षिक लक्ष्य तय गरी समयमै कार्यान्वयन गर्ने अठोट व्यक्त गर्दै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन प्रतिबद्धता जनाएका थिए।
सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायहरूले आफ्नो प्रगतिबारे त्रैमासिक, अर्धवार्षिक र वार्षिक विवरण प्रदेश प्रहरी कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलसहित कोशी प्रदेश प्रहरी कार्यालयका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।