
विराटनगर । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले त्रुटिपूर्ण संविधान सच्याउन संघीय राजधानी केन्द्रित आन्दोलनको तयारी भइरहेको बताएका छन्।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले २०७२ सालमा जारी संविधानले पहिचान र अधिकारविहीन समुदायलाई उपेक्षा गरेको आरोप लगाए। उनका अनुसार मधेशवादी दल र आदिवासी जनजाति मिलेर संयुक्त आन्दोलनको घोषणा गर्ने तयारी भइरहेको छ।
महतोले भने, “अमेरिका, भारतमा संविधान समयानुकूल संशोधन हुँदै अधिकार विस्तार भए। तर हाम्रो संविधान अझै पनि उत्पीडित, आदिवासी, मधेशी, थारु, मुस्लिमसहित सीमान्त वर्गको पक्षमा मौन छ। मुलुक वन नेशन वन थ्योरीको आधारमा चलाइँदा अब अधिकारविहीनका पक्षमा आन्दोलन अपरिहार्य बनेको छ।”
छ वटा मधेशी राजनीतिक दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले यसअघि नै जागरण अभियान सुरु गरिसकेको छ। अभियानमार्फत जनताबाट राय तथा सुझाव संकलन भइरहेको अध्यक्ष महतोले जानकारी दिए।
उनका अनुसार मोर्चाले अब राजविराज (सप्तरी) र जनकपुरमा समेत जागरण अभियान सञ्चालन गर्नेछ।