
विराटनगर। न्याय परिषदले ६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले विभिन्न पदस्थबाट न्यायाधीश पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
परिषदका सूचना अधिकारी सुमन पाण्डेका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालतमा सिफारिस गरिएको छ।
त्यस्तै, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालतमा पठाउन सिफारिस भएको छ।
यसैगरी, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाललाई कञ्चनपुर, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई धनुषा, उपरजिस्ट्रार अनुपमा पन्तलाई, र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप वेस्रालाई रौतहट जिल्ला अदालतमा सिफारिस गरिएको छ।
यस्तै, मंगलबारकै बैठकले आगामी कात्तिक १७ गते रूपन्देही क्षेत्र नं. ३ र मनाङ (२) मा हुने प्रदेशसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्ने विषयमा पनि परामर्श दिएको छ। परिषदले रूपन्देहीमा जिल्ला न्यायाधीश अशोककुमार बस्नेत र मनाङमा जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृतका लागि परामर्श दिएको हो।