
विराटनगर । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा सुनवर्षी नगरपालिकाले आज मंगलबार शोक विदा दिने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाबाहेक सुनवर्षी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । भ्रष्टाचार अन्त्य, बन्द गरिएका सामाजिक सञ्जाल पुनः सञ्चालन, अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ‘जेन–जी’ पुस्ताका युवामाथि भएको दमनका कारण १९ होनहार विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति स्तब्ध र मर्माहत बनेको श्याम प्रसाद राजबंशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारमा तत्काल ध्यान दिन पनि सरकारसँग अपिल गरेको छ ।
‘जेन–जी’ समूहले अघि सारेका जायज मागहरूलाई समर्थन गर्दै यथासक्य सम्बोधनका लागि संघीय सरकारलाई आग्रह गरिएको छ । विधिको शासन, स्वतन्त्र न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यहरूप्रति प्रतिबद्धता जनाउँदै नगरपालीकाले नागरिकको आवाजलाई सम्मानपूर्वक सुन्न सरकारसँग अनुरोध गर्दछु,’ श्याम प्रसाद राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन्।
आन्दोलनरत पक्षलाई संयमित, मर्यादित र अहिंसात्मक तरिकाबाट आन्दोलन अघि बढाउन आग्रह गर्दै उनले ‘जेन–जी’ ले उठाएका जायज मागलाई नगरपालिकाको प्रमुखका तर्फबाट समर्थन गर्दै यथासक्य सम्बोधन गर्न आग्रह गरेका छन् ।
‘नागरिकको आवाजलाई सुन्ने लोकतान्त्रिक मूल्यको सम्मान गर्दै जायज मागसहितको शान्तिपूर्ण आन्दोलनप्रति संवेदनशील भएर जिम्मेवार र दूरदर्शितापूर्ण व्यवहार प्रदर्शन गर्न पनि सरकारलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी समूहले अघि सारेका जायज मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्दै समस्याको दीर्घकालीन समाधान खोज्न र थप मानवीय एवम् भौतिक क्षति हुनबाट रोक्न तत्काल ठोस कदम चाल्न सरकारसमक्ष विशेष अनुरोध गर्दै आन्दोलनमा संयमता अपनाउन हार्दिक अपिल गर्दछु ।’