विराटनगर । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ । सोमबार राति घर नजिकैको बाटोमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा रस्मितालाई आपराधिक समूहले बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ । घटनाबारे थप तथ्य संकलनका लागि जिल्ला प्रहरी कार्यालयबाट अतिरिक्त प्रहरी टोली परिचालन गरिएको डीएसपी बुढाथोकीले बताए । घटनास्थलको मुचुल्का संकलन गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ पठाउने प्रहरीको तयारी छ ।
घटनापछि गाउँमा त्रास फैलिएको छ । स्थानीयले अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । एमाले खोटाङका नेता राम दङ्गालले पनि अपराधीलाई चाँडै पहिचान गरी कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । रस्मिताको परिवारले घटनामा संलग्नलाई कडा सजाय दिलाउन आग्रह गरेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ ।