‘सिटामोल’ फिल्मको पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘सिटामोल’ को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुलाई गीत स्क्रिनिङ गरिनुका साथै युट्युबमार्फत पनि गीत सार्वजनिक गरिएको हो।

कर्णाली प्रदेशमा प्रचलित हुड्के नाच समावेश गरिएको यो गीत देउडा र लोक शैलीको मिठास बोकेको छ। गीतमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन्।

गीतमा बाबुल गिरी को संगीत तथा स्वर छ भने शब्द गोविन्द भट्ट ले लेखेका हुन्। गायनमा गिरीलाई शान्तिश्री परियार ले साथ दिएकी छन्।

भिडियो छायांकन प्रवीण सिंह ले गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराज को रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सांसद ज्ञानेन्द्र शाही को उपस्थिति रहेको थियो। उनले गीतजस्तै फिल्म पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा फिल्मका निर्देशक राजबहादुर साने ले ‘सिटामोल’ ले आफ्नो करिअरको बाटो नै बदल्ने दाबी गरे। उनले भने,

“यो हामीले धेरै मेहनत गरेर तयार पारेको सिनेमा हो। म दाबीका साथ भन्छु, ‘सिटामोल’ मेरो अहिलेसम्मकै उत्कृष्ट फिल्म हो।”

‘सिटामोल’ मा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण परियार र आराध्या डिसी को अभिनय रहनेछ।

फिल्म तुलसीदेवी फिल्म प्राली र जुनतारा फिल्मस को सहकार्यमा निर्माण भएको हो।कथा निर्देशक साने र प्रदीप भारद्धाज ले लेखेका हुन्।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता छन्। साथै अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता रहेका छन्।