काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध भएको बताएकी छन् । जेनजी आन्दोलनको एक महिनाको उपलक्ष्यमा सम्बोधन गर्दै उनले विगतमा सरकारहरुले युवाहरुको माग सम्बोधन नगरेको उल्लेख गरिन् ।
सम्बोधन क्रममा युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले सम्मान गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘एकातिर निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबै आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौं । हामी एउटा नयाँ मार्गमा अघि बढिरहेका छौं । यो मार्ग चुनाव पछि पनि निरन्तर कायम रहनुपर्छ । यसका लागि युवा सचेत हुन जरुरी छ । राजनीतिक दलहरुले आफूलाई सुधार गर्न पनि जरुरी छ । हामीले बाढी प्रभावितलाई विशेष व्यवस्था ल्याएका छौं । हामी शहीदहरुको बलिदानलाई खेर जान नदिने गरी कार्य गर्छौं ।’