ओमान । आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।
ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्यो।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए। दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।
कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए। तर गुल्सन झाले २० बलमा नटआउट २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए। गुल्सनले १ चौका र २ छक्का प्रहार गरे।
बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो।
जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।
१३औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो। अर्को ओभरमा फ्लेमिङलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब दियो।