विराटनगर, २६ असोज
एक समय विराटनगरका ख्यातिप्राप्त चित्रकार भरत डंगोल अहिले आफ्नो कलाका कृतिहरू नि:शुल्क वितरण गर्न थालेका छन्। चित्रकलाको माग घट्दै गएपछि पेशा संकटमा परेको भन्दै उनले आफ्ना कृतिहरू संस्थाहरूलाई ‘मायाको चिनो’का रूपमा दिन सुरु गरेका हुन्।
६० वर्षका डंगोलले २०६२ सालदेखि व्यावसायिक रूपमा चित्रकलामार्फत जीविकोपार्जन गर्दै आएका थिए। विराटनगरमा ‘डिके आर्ट सेन्टर’ सञ्चालन गर्दै आएका उनी अहिले चित्रकलाको घट्दो रुचिका कारण व्यवसाय बन्द गर्ने मनस्थितिमा पुगेका छन्।
“चित्रकलाको माग हुन छाड्यो,” डंगोलले बताउनुभयो, “संस्थालाई मायाको चिनोको रूपमा दिएपछि मेरो कला वर्षौंसम्म बाँच्छ भन्ने आशा गरेको छु।”
उनी अहिले कार्यालयहरूमै पुगेर आफ्ना चित्रहरू हस्तान्तरण गर्न थालेका छन्। आइतबार उनले नेपाल पत्रकार महासंघ मोरङलाई गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का शहीदहरूलाई समर्पित चित्रकला मायाको चिनोका रूपमा हस्तान्तरण गरे।
डंगोलका अनुसार अहिले आर्ट सेन्टरमा करिब ५० देखि ६० वटा चित्रकला बाँकी छन्, जसलाई सामाजिक संस्था तथा इच्छुक व्यक्तिहरूलाई नि:शुल्क वितरण गर्ने योजना छ।
उनको भनाइमा, स्थानीय र प्रदेश सरकारले चित्रकलाको प्रोत्साहनमा चासो नदेखाएकाले यो पेशा संकटमा परेको हो। “फ्लेक्स प्रिन्ट सुरु भएपछि चित्रकलाको बजार लगभग हरायो,” उनले गुनासो गर्नुभयो।
२०६७ सालमा विराटनगरमा आयोजित उनको एकल प्रदर्शनीको उद्घाटन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो। तर त्यसपछिका वर्षहरूमा पनि चित्रकलाको प्रवर्द्धनमा सरकारी तहबाट चासो नआएको उनको दुखेसो छ।
डंगोलले अहिले अर्डरअनुसारको काम मात्र गर्ने बताएका छन्। “अहिले त नम्बर प्लेटको मात्रै काम गर्छु,” उनले हाँस्दै भन्नुभयो।
चित्रकलामा भविष्य नदेखेपछि उनले आफ्ना चार छोराहरूलाई पनि यो पेशातिर नआउन सुझाव दिएका छन्। उनका अनुसार विराटनगरमा रहेका ३९ वटा आर्ट सेन्टरमध्ये अहिले चार–पाँचवटा मात्र कठिनाइका साथ सञ्चालनमा छन्।