१३ कार्तिक बिराटनगर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित त्रिपक्षीय संवादको समापनमा भावुक तथा दृढ अभिव्यक्ति दिएकी छिन्।
सरकार, राजनीतिक दल र ‘जेनजी’ युवा प्रतिनिधिहरू सम्मिलित संवादमा उनले आफू रहरले प्रधानमन्त्री नबनेको स्पष्ट पार्दै परिवर्तनका लागि बलिदानी दिने युवाहरूको आवाज सम्बोधन गर्न र भ्रष्टाचार निर्मूल पार्न कठोरताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले सुरुमा राजनीतिक नेतासँग डिल गर्न नसक्ने भन्दै जिम्मेवारीबाट पछि हटेको तर, राष्ट्रपतिज्यूको आग्रह र जेनजी युवाहरूको ‘अभिभावकत्व लिइदिन’ भन्ने रुन्चे आग्रहले गर्दा आएको बताइन्। “मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सहिद परिवार र घाइतेलाई अलपत्र नपार्ने र बोलेको पुर्याउने प्रतिबद्धता जनाइन्।