 
बिहार । भारतको बिहारमा चुनाव प्रचार गरिरहेका एक व्यक्तिको हत्या भएपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ।
बिहीबार पटनाको मोकामा विधानसभा क्षेत्रमा जनसुरज पार्टीका एक कार्यकर्ताको हत्या भएपछि माहोल तनावग्रस्त बनेको हो।
बिबिसीका अनुसार हत्या गरिएका व्यक्ति जनसुरज पार्टीका उम्मेदवार पियुष प्रियदर्शीका दुलारचन्द यादव छन्।
पटना जिल्लाका प्रमुख प्रशासक त्यागराजन एसएमले विज्ञप्ती जारी गर्दै दुई पक्षबीच झडप भएपछि दुलारचन्दको हत्या भएको पुष्टि गरेका छन्।
‘झडपका क्रममा शंकास्पद अवस्थामा दुलारचन्द यादवको मृत्यु भएको छ। उनी पहिलेका धेरै आपराधिक मामिलामा समेत संलग्न थिए। घटनाको अनुसन्धान र पक्राउ कार्य जारी छ,’ त्यागराजन एसएमले भनेका छन्।
दुलारचन्द यादव यसअघि आरजेडी प्रमुख लालुप्रसाद यादवका निकट सहयोगी थिए। बिहारका हालका मुख्यमन्त्री नितिशकुमारको निकटमा रहर पनि दुलारचन्दले काम गरेका थिए।
मोकामा विधानसभा क्षेत्र परम्परागत रूपमा विवादास्पद र प्रभावशाली नेताहरूको आधार क्षेत्र मानिन्छ।
यही क्षेत्रबाट विगतमा अनन्त सिंह विजयी हुँदै आएका छन्। यसपालि पनि जेडीयूले अनन्त सिंहलाई उम्मेदवार बनाएको छ भने आरजेडीले सूरजभान सिंहकी पत्नी वीणा देवीलाई टिकट दिएको छ।
हत्या प्रकरणमा दुलारचन्दका परिवारजन र जनसुराजका उम्मेदवार प्रियदर्शीले जेडीयू उम्मेदवार अनन्त सिंहमाथि प्रत्यक्ष आरोप लगाएका छन्।
तर, अनन्त सिंहले आफू निर्दोष रहेको दाबी गर्दै यो घटनालाई विपक्षीको षड्यन्त्र भनेका छन्।
यस घटनाले राज्यको राजनीतिक माहोल तताएको छ। आरजेडी नेता तेजस्वी यादवले सामाजिक सञ्जालमार्फत आरोप लगाउँदै भनेका छन्, ‘मोकामा क्षेत्रमा सत्ता संरक्षित गुण्डाहरूले सामाजिक कार्यकर्ता दुलारचन्दको हत्या गरेका छन्। एनडीए उम्मेदवारहरूको अहंकार र हिंस्रक प्रवृत्तिका कारण नै आज यस्तो अवस्था आएको हो।’
जनसुरजका संस्थापक प्रशान्त किशोरले भने थप विविरणपछि आधिकारिक वक्तव्य सार्वजनिक गरिने बताएका छन्।
जेडीयूका प्रवक्ता नीरज कुमारले भने यस्ता घटना लोकतान्त्रिक मूल्य विरुद्धका कार्य रहेको बताएका छन्। उनले दोषी जो भए पनि कानुनले कारबाही गर्ने बताए।
दुलारचन्द यादव ९० को दशकमा लालु र नीतीश दुबैसँग निकट थिए। उनी बाढ–मोकामा क्षेत्रका प्रभावशाली नेतामध्ये एक थिए।
२४३ सदस्यीय बिहार विधानसभा निर्वाचन दुई चरणमा हुनेछ।
पहिलो चरणको मतदान नोभेम्बर ६ (कात्तिक २० गते) मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ (कात्तिक २५) मा हुनेछ।
मतगणना नोभेम्बर १४ (कात्तिक २८) मा हुनेछ। बिहारमा ७ करोड ४२ लाख मतदाता छन्।
यो निर्वाचन दुई वटा गठबन्धनबीच भिडन्त हुनेछ।
राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको ‘महागठबन्धन’मा कंग्रेस, भारतीय कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी सामेल छन्।
यो महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेको छ। ३५ वर्षीय यादव बिहारका बहुचर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा हुन्। पछिल्लो समय उनी बिहारको प्रतिपक्षी दल आरजेडीका नेता हुन्।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको ‘एनडिए’ गठबन्धनले जनता दल (युनाइटेड) का नितिश कुमारलाई आफ्नो तर्फबाट भावी मुख्यमन्त्री घोषणा गरेको छ।
नितिश कुमार दसौंपटक मुख्यमन्त्री बन्ने दौडमा छन्।
उनी पछिल्लो पटक महागठबन्धन त्यागेर भाजपाकै समर्थनमा नवौं पटक मुख्यमन्त्री बनेका थिए।
पटक पटक गठबन्धन फेरिरहने भएकाले उनलाई विपक्षीहरू ‘पल्टुराम’ भन्छन्।
 
                 
                 
           
           
           
           
          