रौतहटमा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

विराटनगर । रौतहटको राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी एक गर्भवती महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ३५ वर्षीया गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।

बुधबार दिउँसो साढे ३ बजे आफ्नै घरमा मोबाइल चार्ज गर्न खोज्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, साँझ ५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरका अनुसार मृतक खातुन गर्भवती थिइन्।

खातुनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।