कुन्दन मण्डल प्रहरी हिरासतमा

१९ कार्तिक बिराटनगर  

। विराटनगर भन्सार कार्यालयका भन्सार प्रतिनिधि कुन्दन मण्डल प्रहरी हिरासतमा परेका छन्। मण्डल मंगलबार रातिदेखि ईलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका प्रहरी इन्स्पेक्टर कविन राईले जानकारी दिएका छन्।
प्राप्त विवरण अनुसार, मण्डलले बोलकबोल प्रक्रिया पूरा गरी जाँच पास गरेको सामानमा लुकाइछिपाई बढी सामान लैजान खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले मण्डललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइदिएको बताइएको छ।
भन्सार अधिकृत श्रेष्ठका अनुसार, मण्डलको प्रज्ञापन पत्रमा हस्ताक्षर गर्ने भन्सार एजेन्ट सौगात पोखरेलमाथि समेत छानबिन सुरु गरिएको छ। सुराकीका आधारमा मण्डलको गाडी समेत नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धानका लागि भन्सार अधिकृतको नेतृत्वमा छानबिन समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले भने, “मण्डलले बोलकबोलमा देखाएको भन्दा बढी सामान लैजान खोजेको पाइएको छ। त्यसैले कानुनी प्रकृया अनुसार कारबाही अघि बढाइएको छ।”
भन्सार कार्यालयले यस घटनालाई गम्भीर रुपमा लिएको छ र अनुसन्धानपछि मात्रै थप कदमबारे निर्णय हुने जनाइएको छ।