२२ कार्तिक बिराटनगर ।
भारतको बिहार विधानसभा आमनिर्वाचन–२०२५ को दोस्रो चरण नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रका नाकामा सुरक्षा सतर्कता कडा पारिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन अररिया जिल्लास्थित भारत–नेपाल जोगबनी सीमा नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो। अररिया जिल्लाका जिलाधिकारी र प्रहरी अधीक्षकले संयुक्त रूपमा जारी गरेको आदेशअनुसार २०२५ नोभेम्बर ८ (कात्तिक २२) साँझ ६ बजेदेखि सीमा नाका पूर्ण रूपमा सिल गरिनेछ। आगामी नोभेम्बर ११ (मंगलबार) हुने मतदान सम्पन्न नहुँदासम्म नाका बन्द रहनेछ। आदेशमा भनिएको छ, “निर्वाचन सुरक्षाको दृष्टिले सीमा बन्द अवधिभर आपतकालीन सेवा वा अत्यावश्यक कारणबाहेक सीमा पार गर्न अनुमति दिइने छैन। विशेष आवश्यकताका लागि सम्बन्धित निकायको जाँचपश्चात मात्र आवतजावतको स्वीकृति दिइनेछ।” सीमा बन्द अवधिमा अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासीसहितका विधानसभा क्षेत्रमा सुरक्षा निगरानी थप सशक्त बनाइने जनाइएको छ। बिहार प्रशासनले नेपालतर्फका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग संयुक्त समन्वयमा सीमा नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको छ। नेपाल–भारतबीचको खुला सीमा यस अवधिमा बन्द भए पनि अत्यावश्यक सेवा, औषधि आपूर्ति र आकस्मिक यात्राजस्ता काममा भने दुबै देशका सम्बन्धित निकायको स्वीकृतिबाट आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय प्रशासनले निर्वाचन अवधिभर दुबै देशका नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।