
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। ललितपुरको इमाडोलमा बसेको केन्द्रीय समिति बैठकले पार्टी पंक्तिलाई तयारीमा जुट्न निर्देशन दिएको छ। बैठकले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने निर्णयसमेत गरेको छ। अध्यक्ष यादवले विगतमा पार्टी छाडेका सम्पूर्ण नेता–कार्यकर्तालाई ‘पुरानो घर फर्किन’ आह्वान गर्दै योग्यताअनुसार जिम्मेवारी दिने बताएका छन्। राजनीतिक दस्तावेजमा जसपाले कांग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारहरू सुशासन र समृद्धि दिलाउन असफल भएको निष्कर्ष निकालेको छ । अध्यक्ष यादवले देशमा गरिबी, बेरोजगारी, भ्रष्टाचार र विभेदको अन्त्य नहुँदा जनतामा निराशा बढेको बताए । महासचिव रामकुमार शर्माले माओवादी अध्यक्ष प्रचण्डले वाम एकताको ‘नाटक’ रचेको आरोप लगाउँदै ठूला दलहरू चुनाव–केन्द्रित मानसिकताबाट मुक्त हुनुपर्ने बताए । उनले जेन–जी विद्रोहका माग सम्बोधनका लागि संविधान संशोधन र सबै दलबीच संवादको आवश्यकता औंल्याए । जसपाले असन्तुष्ट कार्यकर्तालाई पुनः समेट्दै पार्टीलाई समावेशी र सशक्त बनाउन अभियान चलाउने निर्णय गरेको छ ।