मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग विरुद्ध इस्लामी संघ नेपाल कोशी प्रदेशको ६ दिने जागरण अभियान सुरु

२४ कार्तिक बिराटनगर — मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले समाज गलत दिशातर्फ अघि बढिरहेको भन्दै इस्लामी संघ नेपाल कोशी प्रदेशले ६ दिने सदुपयोग जागरण अभियान सञ्चालन गर्ने भएको छ।
संघले आज (सोमबार ) बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको बारेमा जानकारी दिएको हो। अभियान आजदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ।
इस्लामी संघ नेपाल कोशी प्रदेशका सचिव मोहम्मद फारुदले सामाजिक सञ्जालको गलत र अत्यधिक प्रयोगका कारण युवापुस्ता शिक्षाबाट बञ्चित भइरहेका र सामाजिक तथा नैतिक मूल्य मान्यताबाट विचलित हुँदै गएको बताए। उनले भने, “देश र समाज तीव्र गतिमा प्राविधिक विकासको युगमा प्रवेश गरिसकेको छ। त्यसैले यसको सही प्रयोगले ज्ञान, सूचना र सम्पर्कको उत्कृष्ट माध्यम बन्न सक्छ।”
उनका अनुसार, सोही उद्देश्यका साथ संघले सामाजिक सञ्जालको सदुपयोगका लागि जनचेतना अभियान सञ्चालन गर्न लागेको हो।
अभियानका क्रममा ठाउँ–ठाउँमा ब्यानर र पोस्टर टाँस्ने, विद्यालयहरूमा विद्यार्थीहरूलाई मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सही प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने, र कात्तिक २७ गते बिहान ७ बजे बिराटनगरमा र्‍याली निकाल्ने कार्यक्रम तय गरिएको छ।
अभियानको अन्तिम दिन कात्तिक २९ ते बिराटनगरस्थित सगरमाथा पार्टी प्यालेसमा संघ गोष्ठी कार्यक्रम गरी अभियानको समापन गरिने इस्लामी संघ नेपाल कोशी प्रदेशका अध्यक्ष सज्जाद अन्सारीले जानकारी दिएका छन्।