एभरेस्ट महिला भलिबल लिगमा ललितपुर पोखरासँग पराजित

काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ । हिजाे भएकाे खेलमा ललितपुरलाई पोखरा निन्जाजले ३–० को सोझो सेटमा हराएको हो । पोखराको यो पहिलो जित हो ।

त्यसअघि हिजो भएको पहिलो खेलमा कर्णाली यश्विसले मधेश युनाइटेडलाई ३–० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ । अब फाइनलमा काठमाण्डौ स्पाइकर्स र ललितपुरमध्ये एक टिम फाइनलमा पुग्नेछन् । ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ । आज हुने पहिलो खेलमा काठमाण्डौ र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ ।

गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । हिजोदेखि प्रतियोगिता फेरि शुरू भएको हो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल भइरहेको छ । ६ वटा टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल यही २९ गते हुनेछ ।