
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय हरैचा, मोरङमा कार्यरत प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) निर बहादुर खड्कालाई २०८२ साल जेठ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरेको छ।

प्रहरी नायब निरीक्षक खड्काले विभागीय मूल्य-मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका थिए।
उनले जेठ २० गते मोरङको ग्रामथान गाउँपालिका–७ स्थित बेवारिसे अवस्थामा पार्क गरिएका टाटा सुमो गाडीमा शंका लागि चेकजाँच गर्दा दुई जना व्यक्ति र ३ सय ४७ किलो १ सय १० ग्राम लागूऔषध गाँजा बरामद गरी नियन्त्रणमा लिएका थिए।
त्यस्तै, फैसला कार्यान्वयन तर्फ उल्लेखनीय सफलता हात पार्दै खड्काले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त र विभिन्न मुद्दामा २० लाख ८२ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीलाई समेत कानूनी दायरामा ल्याउन सफल भएका थिए।
यसैगरी, जेठ २४ गतेदेखि हराएकी ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलासको क्रममा उनले ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ परियोजनाको नहरमा डुबेको अवस्थामा शव फेला पार्ने प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतकका कानमा लगाइएका सुनका गहना नजिकैको घरमा माटोमुनी गाडेको अवस्थामा फेला पार्न सफल भएका थिए। सो सम्बन्धमा संलग्न शंकित व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
उनको यही सक्रियता, कर्तव्यनिष्ठता र सफलतापूर्वक सम्पन्न गरिएका कार्यहरुको उच्च मूल्याङ्कन गर्दै प्रहरी नायब निरीक्षक खड्कालाई “जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो।