काठमाण्डाै । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले केही नेताहरूका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएको टिप्पणी गर्नुभएको छ ।
राजनीतिक दलहरूसँग आज सिंहदरबारमा छलफलका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावकाे सङ्घारमा आफ्ना आचार र अभिव्यक्तिमा ध्यान दिन सचेत गराउनुभयो । उहाँले आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र ‘हेट स्पिच’ विरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य हुने भन्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावहरूमा देखिएको अनावश्यक खर्च, स्रोत–साधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्ने बताउनुभयो । प्रचारप्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाई चुनावलाई मितव्ययी र पारदर्शी बनाउन प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘केही नेताहरूका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएका छन् । हामीले हाम्रा शब्दहरूको मर्यादा कायम गर्नुपर्छ, किनकि राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य छ । यो सरकारको मुख्य कार्यदिशा सुरक्षा र सुशासन हो । तपाईंहरूको विश्वास पुनर्स्थापित नगरी चुनाव सफल हुन सक्दैन । भर्खरै भएको युवाहरूको विद्रोहले दलाल, बिचौलिया, भ्रष्ट, माफियालाई संरक्षण दिने प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेको छ । हामी यो आवाजलाई पूर्णरूपमा सम्मान गर्छाैँ । हामी युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहन्छौँ । सडकको विद्रोहलाई नीति निर्माणको टेबलतर्फ डोर्याउन चाहन्छौँ । यसैका लागि अध्यादेशमार्फत निर्वाचन कानूनमा सुधार ल्याइँदैछ जसले निर्वाचन प्रक्रियामा युवाको सहभागिता उल्लेख्य वृद्धि गर्नेछ ।’
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको निष्पक्ष र द्रूत अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइरहेको उल्लेख गर्नुभयाे ।