विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको करिब ११ लाख रुपैयाँ बराबरको सामान बोकेको एक भारतीय नम्बर प्लेटको ट्याक्टरलाई प्रहरीले भन्सार छली गरेको आशंकामा नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले उक्त ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा पठाएको छ ।
इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर १३ स्थित टेलिकम कार्यालय अगाडिबाट बीआर ३८ इ ७४२५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार, भन्सार पास गर्दा देखाइएको भन्दा बढी मूल्यको सामान लोड गरिएको भन्ने सूचनाका आधारमा ट्याक्टरमाथि निगरानी गरी नियन्त्रणमा लिइएको हो।
ट्याक्टरमा तुलसी गोल्ड पोलिस्टन थ्रेड, फिनिस लेदर, लेदर केमिकल, कटोक फेब्रिक्स लगायतका विभिन्न किसिमका सरसामानहरू थिए । भन्सार कार्यालयमा ती सामानहरूको कुल मूल्य १० लाख ९६ हजार ३७१ रुपैयाँ घोषणा गरिएको थियो ।
प्रहरीले ट्याक्टरका चालक भारत, बिहार राज्य अररिया जिल्ला जोगबनीका ३८ वर्षीय रोशन यादवलाई पनि नियन्त्रणमा लिएको छ । यस घटनामा भन्सार एजेन्टका सहयोगी अकबर अलीको संलग्नता रहेको आशंका गरिएको छ । यद्यपि, अलीले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आफूलाई दुःख दिने नियत मात्र भएको बताएका छन् ।
यता, राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीका सूचना अधिकारी विदुर गौतमले प्रहरीले बुझाएको ट्याक्टर र सामानमाथि अनुसन्धान सुरु गरिएको पुष्टि गरेका छन् । उनले भने, ट्याक्टरमा लोड गरिएको सामान खोल्ने प्रक्रियामा छौं । विस्तृत अनुसन्धानपछि मात्र राजस्व छली भए नभएको कुरा खुल्नेछ