म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ । ताल जमेर एक ढिक्का भएपछि मानिस हिँडडुल गर्न सकिने भएको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा झन्डै २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र हो ।
ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामाकरण गरेका थिए ।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि यो ताल नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ ।
पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृष्य फन्को मारेर अवलोकन गर्न सकिन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो ।
हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म गाडीमा र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ ।
चिसो बढेसँगै अन्नपूर्ण पदयात्रामा चहलपहल घटेको स्थानीय होटल ब्यवसायी माइकल पुनले बताउनुभयो । असोज–कात्तिकको शरदयाममा झन्डै १५ हजार पर्यटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।