पोखराको विजयपुर खोलामा पुल निर्माणको लागि दैनिक चार घण्टा सडक बन्द हुने

कास्की ।  पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड आजदेखि आउँदो ११ गते बिहीवारसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । पोखराको विजयपुरखोलामा निर्माणाधीन पुल बनाउनको लागि बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले जनाएको छ ।

दैनिक चार घण्टा सडक पूर्ण/आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सडक आयोजनाले आग्रह गरेको छ । पोखरादेखि विजयपुर हुँदै तालचोक ओहोरदोहोर गर्ने गाडी दैनिक चार घण्टा पूर्ण रूपमा बन्द हुने आयोजनाले जनाएको छ ।

मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना गाडीका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला गाडीका लागि लेखनाथको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाण्डौसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत काम भइरहेको छ ।