देशका विभिन्न भागमा मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

विराटनगर।देशभर मनसुनी प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव छ।

त्यस्तै, देशको पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुले आंशिक प्रभाव पारेको छ भने भारतको पश्चिम बंगाल आसपासको न्यूनचापिय क्षेत्रको पनि आंशिक प्रभाव नेपालमा देखिएको विभागले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक-दुई स्थानमा पनि वर्षा भइरहेको जानकारी विभागले दिएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थान र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराई भू-भागमा भने केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानमा र अन्य थोरै भू-भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ।

विभागले वर्षाको असरले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ।