
विराटनगर । इजरायल–इरानबीच जारी तनावका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ। नेपाल सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गर्ने तयारी थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेको र उनीहरुको सुरक्षाका लागि भारत सरकारसँग अनुरोध गरिएको जानकारी दिइन्। उनले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारत सरकारलाई नेपाली नागरिकको उद्धारका लागि आग्रह गरिएको बताइन्।
“इरानमा हाम्रो पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ। तपाईंहरूले आफ्ना नागरिक उद्धार गर्ने क्रममा उनीहरूलाई पनि उद्धार गरिदिनुहोला भनेर मैले औपचारिक अनुरोध गरिसकेको छु,” मन्त्री डा. राणाले भनिन्, “हामी भारत सरकारको सहयोगको प्रतीक्षामा छौँ।”
उद्धार प्रक्रिया सहज बनाउन डा. राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी छिन्। नेपाल सरकारको अनुरोधपछि इरानस्थित भारतीय दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सम्पर्क गर्न र दूतावासको नजिक रहन सूचना जारी गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इरानमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्क भइरहेको छ। त्यहाँस्थित भारतीय दूतावासकी डिसिएम राखी मायुरीसँग समेत नियमित समन्वय जारी छ।
इरानस्थित भारतीय दूतावासले नेपाल तथा श्रीलंकाका नागरिकहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। इरानमा रहेका १६ नेपालीमध्ये ५ जना अध्यागमनसम्बन्धी कानुनी समस्याका कारण जेलमा रहेका र उनीहरूको रिहाइका लागि प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।