काठमाण्डाै । नेपाली कांग्रेसले आउँदो पुसको २६ गतेदेखि २८ गतेसम्म काठमाण्डाैमा महाधिवेशन गर्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको महाधिवेशनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।
पार्टी मुख्यालय सानेपामा हिजो बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्नुभएको हो । पार्टीको १५औं महाधिवेशनको मितिसहितको कार्यतालिका सर्वसम्मत पारित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते तथा सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने उल्लेख गरिएको छ ।
कांग्रेसले महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानबिन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर समितिहरूको गठन गर्ने निर्णय गरिएको प्रवक्ता महतले बताउनुभयो ।
यस्तै बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । १४औं महाधिवेशन २०७८ सालको मङ्सिर २४ गतेदेखि २८ गतेसम्म भएको थियो । त्यस अनुसार यही मङ्सिर २३ गते म्याद सकिने भएको र पुसमा महाधिवेशन गर्ने भएकोले माघ मसान्तसम्म म्याद थप गरिएको प्रवक्ता प्रकाशशरसाण महतले जानकारी दिनुभयो ।
महाधिवेशन मितिबारे विषयमा सहमति जुट्न नसक्दा असोज २८ गतेदेखि शुरू केन्द्रीय समिति बैठक बीचमा पटक पटक स्थगित भएको थियो ।