काठमाण्डौ । काठमाण्डौ महानगरको वडा–२१ यंगालको येँगा हिटी (ढुंङ्गेधारा) मा ५ दशकपछि पहिलोपटक कलकल पानी आएको छ । लिच्छविकालिन यो हिटीमा ५० वर्षपछि पहिलोपटक हिजो पानी खस्दा यंगालबासीले उत्सबका रूपमा मनाएका छन् ।
वरपरका अग्ला कंक्रिटको घरले घेरिएको हिटीका तीन वटा धारामा अहिले पानी आइरहेको छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा यो हिटीको जिर्णोद्धार गरेको थियो ।
अमेरिकाको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को अनुदानमार्फत गरिएको सहयोगमा लामो समयपछि यो ढुंङ्गेधाराले पुनर्जीवन पाएको हो ।
काठमाण्डौ महानगरका उपमेयर सुनिता डङ्गोलले आफू सानो हुदाँदेखि देखेको तर पानी नआएको यो ढुङ्गेधारामा पानी झर्दा खुसी लागेको र अबका दिनमा यस्ता ढुङ्गेधाराको जिर्णोद्वार तथा पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो । कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले ५० वर्षमा पहिलोपटक हिटीमा पानी खस्नु सार्थक उपलब्धि रहेको बताउनुभएको छ ।