भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार तयार छ : प्रधानमन्त्री कार्की

काठमाण्डाै ।  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सिंहदरबारमा भएको कार्यक्रममा उहाँले सरकारले आफ्नो नियमित कामसँगै सुशासनको पक्षमा पनि दृढ भएर लागिपरेको उल्लेख गर्नुभयो ।

सुशासनको पक्षमा सरकारले काम गरिरहेको भन्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि तयार रहेको बताउनुभयो । त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकलाई विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रहसमेत गर्नुभएको छ । सामाजिक न्याय, समृद्धि र सुशासनका लागि पनि भ्रष्टाचारको अन्त्य आवश्यक रहेकोमा उहाँको जोड छ ।

साथै प्रधानमन्त्री कार्कीले लालसाविनाको साधारण जीवनशैली अनि मानवता र नैतिकताको महत्त्व जगाउन सके भ्रष्टाचारमा कमी ल्याउन सकिने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर ९ तारिखमा विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाउने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचारविरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो ।

सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचारविरुद्ध नेपालमा पनि विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन ।