रतुवा–केशलिया सडकको ठेक्का तोडियो

काठमाण्डौ ।  सरकारले हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडेको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।

सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्नेगरी कम्पनीसँग २०७६ साल कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७९ साल कात्तिक २३ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति झन्डै २५ प्रतिशत मात्र छ । प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ ।

योजना कार्यालय इटहरीबाट गएको साउनमा ‘ठेक्का किन नतोड्ने?’ भन्दै निर्माण व्यवसायीसँग १५ दिने स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको हो ।

अहिलेसम्मको काम र बाँकी कामको नापजाँच मूल्याङ्कन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन व्यवसायीलाई अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिने सूचनामा भनिएको छ ।