काठमाण्डौ । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले करिब ५० वर्ष लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।
अहिले ६६ वर्षको उमेर भएको र अब पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै उहाँले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने बताउनुभएको छ ।
यसबीचमा आफूले इमान, निष्ठा र समर्पणका साथ तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरेको उहाँको दाबी छ । एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता बन्ने होडमा नलागेको उहाँको भनाइ छ ।
तनहुँमा जन्मिएका अधिकारीले पार्टीको ११औँ महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवारी दिनुभएको थिएन । अघिल्लो कमिटीमा उहाँ सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।