विराटनगर । तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । चिसो उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसोपख आकाशमा बादल लाग्ने गरेको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।
तराई मधेशमा केही दिनयता दिनभरजसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा जाडो बढेको छ । पुसको कठ्यांग्रिँदो जाडोले विपन्न नागरिकलाई बढी समस्या भएको छ ।
हुस्सु र कुहिरोले पारदर्शिता कम हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, चन्द्रगढी, सिमरा लगायतका विमानस्थलमा हवाइ उडान समयमा हुन सकेको छैन ।