भोलिबाट १८ औँ विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

विराटनगर

विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ भोलिबाट सुरु हुने भएको छ। विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा पुस ९ गते देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगिता भोलिबाट सुरु हुने भएको हो।
आज प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै एभरेष्ट माध्यमिक विद्यालयका प्राचार्य टिकाराम पुरीले भोलिबाट प्रतियोगिता सुरु हुने बताउनु भएको हो। प्राचार्य पुरीले महानगरसँगको सहकार्यमा प्रतियोगिताको संयोजन र समन्वय एभरेष्ट माध्यमिक विद्यालयले गर्ने गरि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनु भएको हो।
उहाँले प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने जानकारी दिनु भयो।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्देशन समितिका संयोजक तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रतियोगिता महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयको उत्साहपूर्ण सहभागिता रहने विश्वास व्यक्त गर्नु भएको थियो। उहाँले प्रतियोगितालाई विराटनगरको चिनारीको रूपमा अगाडि बढाउन सम्पूर्ण विराटनगरवासीको साथ-सहयोग आवश्यक पर्ने भएकोले सबै क्षेत्रले सम्भव भएसम्मको सहयोग गर्नु अनुरोध गर्नु भएको थियो।
प्रमुख कोइरालाले महानगरले प्रतियोगिताका लागि छुट्याएको १० लाख रकममा थप आउने रकमको दायित्ववहन गर्दै प्रतियोगिता  संयोजनको जिम्मेवारी ग्रहण गरेकोमा एभरेष्ट माध्यमिक विद्यालयलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।
महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेलले प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि स्पर्धा हुने जानकारी गराउनु भएको थियो। ढुंगेलले प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुने बताउनु भयो।
प्रतियोगिताका खेलहरू विराटनगरस्थित शहीद रङ्गशाला, रङ्गशालाको कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा हुनेछन्।