
विराटनगर
विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहान करिब पौने १ बजे विराटनगर–४ स्थित भित्री सडकखण्डमा दुर्घटनामा परेका हुन्। एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।
थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै करिब ९ वर्षदेखि राष्ट्रियस्तरको क्रिकेट खेल्दै आएका थिए। उनको निधनले क्रिकेट क्षेत्रसहित परिवार र शुभेच्छुकलाई शोकमा डुबाएको छ।