समानुपातिक सूचीमा नेपोबेपी : कांग्रेसमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी, रास्वपामा धनाड्यका छोरा र सेलिब्रेटी

काठमाडौं  । नेपालको संविधानमा समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य छ । तर, प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा दलहरुले नेताका छोराछोरी, धनाड्यका सन्तान र सेलिब्रेटीलाई प्राथमिकतामा राखेका छन् ।

नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । रास्वपाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षका छोरालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति रामवरण यादवका छोरा डाक्टर चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ । कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको वर्चस्व देखिएको छ ।

११० जनाको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल छन् । गोल्डस्टार ब्रान्डका जुत्ता–चप्पल उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा खस–आर्य महिला क्लस्टरबाट बन्दसूचीमा परेकी छन् ।

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला समूहबाट सूचीको चौथो स्थानमा छन् । मुस्लिम महिलातर्फ मानव अधिकारकर्मी मोहना अन्सारी सूचीमा परेकी छन्। चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङले पनि समानुपातिकतर्फ स्थान बनाएका छन् । रूपक विश्वकर्मा, प्रकाश सपुत अभिनेत्री रीमा विश्वकर्माको नाम छ ।