विराटनगर । विराटनगरमा बुधबारदेखि कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विराटनगरस्थित एसि
याटिक होटलमा गोष्ठी सुरु भएको हो ।
गोष्ठीको उद्घाटन गृहमन्त्री ओम प्रकाश अर्यालले गरे । गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी चुनौतीबारे गहन छलफल हुने बताइएको छ ।
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद रिसालको सहभागिता रहेको छ ।
सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको यस गोष्ठीमा नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी छन् ।
गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा समितिका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने कार्यतालिका रहेको छ ।
विशेष गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पार्न यो गोष्ठी आयोजना गरिएको बताइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजना र समन्वयका विषयमा गोष्ठीमा विस्तृत छलफल हुनेछ । १४ जिल्लाका सुरक्षा प्रमुखहरूको प्रस्तुति र केन्द्रबाट आएका सुरक्षा प्रमुखहरूको निर्देशनपछि प्रदेशको नयाँ सुरक्षा रणनीति तय गरिनेछ ।