विराटनगर । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा बुधबार सम्पन्न भएको छ ।
गृह मन्त्रालय र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, निर्वाचन तयारी, सम्भावित जोखिम र त्यसको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार गोष्ठी पूर्ण रूपमा निर्वाचन लक्षित थियो ।
विशेष गरेर फरार कैदीबन्दी र लुटिएका हतियार निर्वाचनको मुख्य चुनौतीका रूपमा देखा परेको निष्कर्ष गोष्ठीबाट निकालिएको छ । जेलबाट भागेका कैदीबन्दी पक्राउ गर्न र प्रहरीबाट लुटिएका हतियार फिर्ता गर्न जिल्ला–जिल्लामा थप विशेष एवं प्रभावकारी अभियान चलाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष पनि गोष्ठीको छ ।
जिल्लाबाट हालसम्म भइरहेका कामकारबाही, देखिएका चुनौती, अपनाइएका असल अभ्यास र आगामी दिनमा जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने वातावरण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गहन समीक्षा गोष्ठीमा भएको गृह प्रवक्ता काफ्लेले बताए । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् ।
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै फरार कैदीबन्दी अझै ठूलो संख्यामा पक्राउ नपरेको र विगतमा प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएसम्म निष्पक्ष निर्वाचनमा प्रश्न उठ्ने बताएका थिए । यस विषयमा मुख्यमन्त्री कार्कीले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
गृह प्रवक्ता काफ्लेका अनुसार मुख्यमन्त्रीले ध्यानाकर्षण गराएको विषयमा पनि गहन ढंगले छलफल भयो । सुरक्षा अधिकारीहरुले फरार कैदीबन्दी पक्राउ र लुटिएका हतियार बरामद गर्न विशेष अपरेसन चलाइरहेको जानकारी गोष्ठीमा गराएका छन् ।
प्रदेशका सबै १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आआफ्नो जिल्लाको सुरक्षा अवस्था, भौगोलिक विकटता, सीमा क्षेत्रका संवेदनशीलता, चोरी पैठारी, खुला सीमाबाट सिर्जना हुन सक्ने जोखिम तथा निर्वाचनका समयमा देखिन सक्ने सम्भावित चुनौतीका बारेमा विस्तृत जानकारी गराएका थिए । भौगोलिक विकटताका कारण चुनावका समयमा कतिपय जिल्लामा हेलिकप्टरको आवश्यकता रहेको विषय पनि गोष्ठीमा उठाइएको छ ।
मौसम र परिस्थिति हेरेर चुनावमा हेलिकप्टर व्यवस्थापन गरिने काफ्लेको भनाइ छ । गोष्ठीमा निर्वाचनलाई लक्षित गरी सुरक्षा जनशक्ति परिचालन, संवेदनशील क्षेत्रको पहिचान, सुरक्षा तैनाथीको ढाँचा, सूचना आदानप्रदान र आकस्मिक अवस्थामा अपनाइने कार्यविधिलगायतका विषयमा छलफल भएको उनले बताए ।
गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए । गोष्ठीमा कोशीका मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव नारायणप्रसाद रिसाल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी गौरवकुमार केसी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायत सहभागी थिए ।
साथै, गोष्ठीमा नेपाली सेनाका वाहिनीपति, प्रदेशस्तरीय सुरक्षा निकायका पदाधिकारीहरू, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । सुरक्षा निकायबीच प्रभावकारी समन्वय नै शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचनको आधार हुने निष्कर्षसहित सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।