विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित ३ नं. ढाटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
विराटनगरबाट जोगबनी तर्फ जाँदै गरेको प्र.१–०२–०५२प ९५८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ३ नं. ढाटमा ठक्कर खाँदा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका–५ महुली घर भई हाल कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा कार्यरत ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो ।
गएराति करिब १२:५५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले राति १:२२ बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङ कटहरी गाउँपालिका–५ का ३० वर्षीय धर्मेन्द्र सरदार सामान्य घाइते भएका छन् । उनी मृतक चौधरीसँगै सोही कन्स्ट्रक्सनमा काम गर्ने मजदुर भएको प्रहरीले जनाएको छ ।