सीप प्रमाणीकरणदेखि रोजगारीसम्मः सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्ने प्रयास

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठ, मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैन तथा सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठ सहभागी थिए। कार्यक्रमको सहजीकरण नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना (दोस्रो चरण) का अनुगमन तथा नतिजा मापन विशेषज्ञ प्रेमकुमार मग्रातीले गरेका थिए।

छलफलमा सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझाले सिटिईभिटीले विभिन्न सीप विकास कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराए। उनले एचए, स्टाफ नर्स, सब–ओभरसियरजस्ता मध्यम तथा निम्न तहका प्राविधिक जनशक्ति उत्पादनमा सिटिईभिटीको योगदान महत्वपूर्ण रहेको बताए।