नेपाल बिजनेस कलेजद्वारा ३५० भन्दा बढी नयाँ विद्यार्थीलाई भव्य स्वागत

विराटनगर । विराटनगर–११ मा अवस्थित नेपाल बिजनेस कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका ३५० भन्दा बढी विद्यार्थीलाई भव्य समारोहका बीच स्वागत गरेको छ। आइतबार आयोजित कार्यक्रममा कलेजका विभिन्न संकायमा अध्ययन सुरु गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको हो।
एमबीए, बीबीए, बिआइटी र बीएचएम तहमा अध्ययनरत पुराना विद्यार्थीहरूले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि एवं कलेजका संस्थापक अध्यक्ष भेषप्रसाद धमलाले गुणस्तरीय शिक्षासँगै सीपमूलक र व्यावहारिक ज्ञान प्रदान गर्नु कलेजको मुख्य उद्देश्य रहेको बताए। उनले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा सक्षम बनाउने खालको शिक्षा दिन कलेज सधैं प्रतिबद्ध रहेको उल्लेख गरे।
स्वागत समारोहलाई मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरूले नृत्य, गायन तथा फेसन शो प्रस्तुत गरेका थिए। कार्यक्रमका सम्पूर्ण व्यवस्थापन र आयोजना विद्यार्थीहरूले नै गरेका हुन्। कलेजका निर्देशक दीपक कोइरालाका अनुसार यस्ता ‘मेगा इभेन्ट’ हरू विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप र आत्मविश्वास विकासका लागि महत्वपूर्ण अभ्यास हुन्।
‘सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने व्यवस्था छ र यसको मूल्यांकन उनीहरूको शैक्षिक अंकसँग पनि जोडिएको हुन्छ,’ निर्देशक कोइरालाले बताए।
सन् २०१४ देखि सञ्चालनमा आएको नेपाल बिजनेस कलेजबाट हालसम्म ३०० भन्दा बढी विद्यार्थीहरू स्नातक भइसकेका छन्। हाल कलेजमा एमबीए तहको नवौँ ब्याच अध्ययनरत रहेको कलेजले जनाएको छ। कलेजका अनुसार यहाँबाट उत्तीर्ण भएका करिब ७० प्रतिशत विद्यार्थीहरूले स्वदेशमै रोजगारी प्राप्त गरेका छन् भने केही विद्यार्थीहरू उच्च शिक्षा तथा रोजगारीका लागि विदेश गएका छन्।
पढाइसँगै अतिरिक्त क्रियाकलाप र सीप विकासलाई प्राथमिकतामा राख्दै आएको नेपाल बिजनेस कलेजले विराटनगरमा शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।