विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी झापाका नेताहरूसँग आइतबार भएको छलफलमा शाहले यस्तो जानकारी दिएका हुन्।
ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग कुराकानी गरेका थिए । ‘हामी पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वसँग कुराकानी गर्न काठमाडौं आएका थियौं। यही बेला मेयर बालेन शाहसँग पनि छलफल गरौं भनेर ज्वागल गएका थियौं,’ पाठकले भने, ‘कुराकानीका क्रममा उहाँले आफू झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने बताउनुभयो।’
अध्यक्ष पाठकका अनुसार कुराकानीका क्रममा मेयर बालेन झापा–५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए। बालेनले आफ्नो टिमले झापा–५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्भेक्षण गरेको समेत जानकारी गराएका थिए।
बालेनले स्थानीय आवश्यकता, त्यहाँका नागरिकको चाहना आदि समेटेर केही सामग्री पनि तयार पारेको र रास्वपाको जिल्ला पार्टीले केही तयार पारेको भए खाका पठाउन भनेको पाठकले बताए। ‘उहाँहरूले एकसरो सर्भेक्षण गर्नुभएको रहेछ। स्थानीय आवश्यकता आदि बुझेर ब्लुप्रिन्टजस्तो पनि तयार पार्नु भएको रहेछ। कुराकानीकै क्रममा उहाँले तपाईंले केही तयार पार्नुभएको छ भने त्यो पनि पठाउनुहोस् भन्नुभएको छ,’ पाठकले भने।
‘उहाँको मनस्थिति हेर्दा झापा–५ बाटै चुनाव लड्नेजस्तो पायौं। विस्तृत त पार्टीमा छलफल होला,’ पाठकले भने। झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन्।
२०६४ मा भने अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए। यसबाहेक २०४८ यताका सबै निर्वाचन ओलीले सोही क्षेत्रबाट जितेका छन्।