माघीपर्वलाई संस्कृति, उत्सव र मुक्तिको स्मृतिका रुपमा मनाउँदै थारु समुदाय

विराटनगर । थारु समुदायमा आज धुमधामका साथ माघीपर्व मनाईदैछ । माघीलाई थारु समुदायले नयाँ वर्ष, सामाजिक पुनरावलोकन र स्वतन्त्रताको प्रतीकका रूपमा मनाउँदै आएका छन् ।

गाउँदेखि शहरसम्म माघीको आगमनसँगै घरआँगन, चोक र सार्वजनिक ठाउँहरू उत्सवमय बनेका छन् । माघीको अवसरमा थारु बस्तीहरूमा परम्परागत सरसफाइ, खानपानको जोहो र सांस्कृतिक तयारी हप्तौँ अघिदेखि शुरू हुन्छ । आज बिहान नदी, ताल वा खोल्सामा स्नान गरी पूजा गर्ने र ठूला–बडाबाट आशीर्वाद लिने परम्परा छ ।

विभिन्न ठाउँमा माघी महोत्सव आयोजना गरिएका छन् । यी महोत्सवमा झुम्रा, झर्रा, लाठी, मयूर, मघौटा नाच, सांस्कृतिक झाँकी र थारु भेषभूषाको प्रदर्शन गरिएको छ । साथै पौवा, ढेकी, हलो–जुवा, डेलिया जस्ता पुख्र्यौली सामग्री प्रदर्शनीमा राखिएको छ । माघी महोत्सवमा थारु समुदायका मौलिक खानाका परिकारले विशेष आकर्षण थपेका छन् । ढिक्री, भक्का, घोँगी, माछा र स्थानीय परिकार चाख्न आउने दर्शकको भीड देखिन्छ ।

माघी पर्व सामाजिक संरचनासँग पनि जोडिएको छ । यस अवसरमा घरपरिवार र गाउँस्तरमा विगतको समीक्षा र आउँदो वर्षको योजना बनाइन्छ । घरमूली चयन गर्ने परम्पराले सामुदायिक निर्णय प्रक्रियालाई निरन्तरता दिएको छ । इतिहासमा माघी थारु समुदायका लागि पीडासँग पनि जोडिएको पर्व हो ।

यही समयमा कमैया र कमलरी प्रथासम्बन्धी कठोर निर्णय हुन्थ्यो । कमैयाप्रथा र कमलरी प्रथा कानुनी रूपमा अन्त्य भए पनि मुक्त कमैया र कमलरी समुदायको जीवनमा अझै सामाजिक र आर्थिक चुनौती बाँकी रहेका थारु अगुवाहरु बताउँछन् ।

यसैबीच मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । बागलुङ जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्त्वका साथ मनाउने गर्छन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुशी साटासाट गरी रमाइलो गर्ने चलन छ ।