मोरङको जुरीखोला किनारमा जुवाको अखडा, तीन लाखभन्दा बढी नगदसहित चारजना प्रहरी नियन्त्रणमा

/ मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुरीखोला छेउको जंगल क्षेत्रमा सञ्चालन हुँदै आएको जुवाजन्य गतिविधि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रह्ररी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गर्दै तीन लाखभन्दा बढी नगद रकम बरामद गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार  साँझ करिब ६ बजेतिर उक्त बाँसझ्याङ क्षेत्रमा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।
छापा मार्ने क्रममा जुवाको खालबाट १६ थान कौडा र नगद तीन लाख १३ हजार रुपैयाँ फेला परेको मोरङ प्रहरीले जनाएको छ । बरामद गरिएको नगद र जुवाका सामग्री कानुनअनुसार नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ निवासी ५७ वर्षीय जयकिशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका–३ स्थायी ठेगाना भई हाल धरान बसोबास गर्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी गाउँपालिका–१ निवासी ४२ वर्षीय सोनेलाल राजवंशी र मोरङकै सुन्दरहरैचा नगरपालिका–५ निवासी ४७ वर्षीय इन्द्र आचार्य रहेका छन् ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई इप्रका बेलबारीमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरीका प्रवक्ता हरिनन्दन चाेैधरीले जानकारी दिए । पछिल्लो समय जुवाजन्य गतिविधि बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ ।