समानुपातिकतर्फको १ करोड २ लाख भन्दा धेरै मतपत्र छपाइ सकियो

विराटनगर । जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको जनाएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइको जिम्मा पाएको केन्द्रले अहिलेसम्म समानुपातिकतर्फका लागि १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको हो ।

निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फका लागि कूल दुई करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले अहिलेसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २ सय थान मतपत्र उपलब्ध गराइसकेको छ ।

केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४ सय ३१ बाकस मतपत्रको प्याकिङसमेत  गरेको छ । कूल सात हजार ८ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९ सय ८९ बाकस भने प्याकिङ गर्न बाँकी छ ।