विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक मनोनयनले महत्वपूर्ण कोशेढुङ्गा पार गर्न सफल भएको बताउनुभएको छ । सिङ्गो देश नै चुनावी महाकुम्भमा होमिएको उल्लेख गर्दै उहाँले सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।
हिजो बेलुका एक सन्देशमार्फत् प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ मा हुने मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामथ्र्यका साथ लागिपरेको बताउनुभयो । उहाँले सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता नगर्ने अनि सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र उच्च मनोबलका साथ परिचालित भएको उल्लेख गर्नुभएको छ ।
प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमा हिजो ३४ सय ८४ जनाले मनोनयन दर्ता गराएका छन् । यो उत्साहबाट राजनीतिक वृत्तमा मात्र नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमासमेत सकारात्मक ऊर्जा सञ्चार गरेको उहाँले बताउनुभयो । साथै अब अन्योल र अनिश्चितताको अवस्था अन्त्य हुने प्रधानमन्त्री कार्कीको विश्वास छ ।