मोरङमा चुनावी सरगर्मी :  यी हुन् ६ वटै  क्षेत्रका  उम्मेदवार

विराटनगर । आगामी निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच जिल्लाभरि नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

क्षेत्र नम्बर १ :  फागो र खतिवडाबीच रोचक भिडन्त
मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका तर्फबाट खड्ग फागो र नेकपा एमालेबाट घनश्याम खतिवडा मैदानमा उत्रिएका छन् । यस्तै, नेकपाबाट कुलप्रसाद साम्बा र रास्वपाबाट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् । जम्मा १८ जनाले उम्मेदवारी दर्ता गरेको यस क्षेत्रमा ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यहाँ १ लाख २८ हजार ५४५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।

क्षेत्र नम्बर २ :  रिजाल र बगडियाको प्रतिस्पर्धा
क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका डाक्टर मिनेन्द्र रिजाल र नेकपा एमालेका दीलिप बगडीयाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा चन्द्रवीर राई (नेकपा) र कृष्णकुमार कार्की (रास्वपा) पनि चुनावी दौडमा छन् । ४ स्वतन्त्रसहित कूल १७ जना उम्मेदवारले यहाँ प्रतिस्पर्धा गर्दै छन् ।

क्षेत्र नम्बर ३ :  धेरै मतदाता र धेरै उम्मेदवार
जिल्लामै सबैभन्दा बढी १ लाख ५८ हजार ५७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २१ जनाको उम्मेदवारी परेको छ, जसमा ७ जना स्वतन्त्र छन् । यहाँ नेपाली काँग्रेसका डाक्टर सुनिल शर्मा र नेकपा एमालेका इरान राई मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । यस्तै, डाक्टर देवेन्द्र साम्बाहाम्फे (नेकपा) र गणेश कार्की (रास्वपा) ले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

क्षेत्र नम्बर ४ :  घिमिरे र मोदीको शक्ति प्रदर्शन
क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरे र नेकपाबाट अमनलाल मोदीबीच त्रिपक्षीय भिडन्त हुने आकलन गरिएको छ । रास्वपाबाट सन्तोष राजवंशी पनि चुनावी मैदानमा छन् । कूल २१ उम्मेदवार रहेको यस क्षेत्रमा ४ जना स्वतन्त्र छन् भने मतदाता संख्या १ लाख १९ हजार २५५ रहेको छ।

क्षेत्र नम्बर ५ :  बहुपक्षीय प्रतिस्पर्धा
क्षेत्र नम्बर ५ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ काँग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल र नेकपाबाट शिवकुमार मण्डल चुनावी मैदानमा छन् । यस्तै, राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डल र रास्वपाकी आशा झाले पनि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ १ लाख १० हजार १७७ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ६ :  डा. कोइरालाको साख जोगाउने चुनौती
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले पुन: उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा विजयी भएका कोइरालालाई यस पटक एमालेका विनोद ढकालले चुनौती दिँदै छन् । यस्तै, नेकपाबाट ओपेन्द्र राय र रास्वपाबाट रुविना आचार्यसहित २० जना चुनावी प्रतिस्पर्धामा छन् ।