
विराटनगर। आज असार १५ अर्थात् धान दिवस । आजका दिनलाई रोपाईं महोत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

नेपाल कृषिप्रधान देश भएकाले पनि यो दिनको विशेष महत्व रहदै आएको छ । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाइदै आएको छ ।
खेतमा रोपाईं गरेर दही–चिउरा खाने हुनाले आजका दिन दही–चिउरा खाने दिनका रुपमा समेत परिचित छ । सरकारले २०६१ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउने घोषणा गरेपछि यस दिनले थप ब्यापकता पाउदै गएको छ । यसै अवसरमा आज विभिन्न स्थानमा रोपाइ कार्यक्रमको आयोजना गरिन्छ ।
नेपालमा कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिचाइ सुविधा उपलब्ध भएकाले बाकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ । हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरु बताउँछन् ।