विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढेपछि निर्वाचन आयोगले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ ।
पैसा बाँड्ने, सरकारी सवारीसाधनको दुरुपयोग गर्ने, बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गर्ने र घृणात्मक अभिव्यक्ति दिने गतिविधिहरूलाई आधार बनाएर आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सार्वजनिक पदाधिकारी र संघसंस्थासमेत गरी ८ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार पहिलोपटक आचारसंहिता उल्लंघन गरेको देखिएका व्यक्ति तथा संस्थालाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधिएको हो ।
आयोगमा परेका उजुरीहरूमा निर्वाचन प्रचारप्रसारका क्रममा पैसा बाँडिएको, सरकारी गाडी प्रयोग गरिएको, बालबालिकाको प्रयोग भएको र द्वेषपूर्ण तथा घृणित अभिव्यक्ति दिइएको विषय समेटिएका छन् । आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडियोका आधारमा स्पष्टीकरण सोधेको छ ।
उम्मेदवारी दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूको टाउकोमा पैसा सिउरिएको दृश्य सार्वजनिक भएपछि आयोगले त्यसलाई आचारसंहिता उल्लंघन ठहर गर्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको हो । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईलाई पनि सचेत गराएको छ । राईले आचारसंहिता विपरीत पैसा बाँडेको आरोपसहित उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरीको क्षेत्र नम्बर १ का उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)लाई निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारका चुनावी गतिविधिमा प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आयोगको कारबाही प्रक्रियामा परेका छन् । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा कार्की सरकारी गाडी प्रयोग गरेर उपस्थित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन अवधिमा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत र साधन प्रयोग गर्न नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ का राप्रपा उम्मेदवार सुरेन्द्र भण्डारीलाई यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध द्वेषपूर्ण र घृणात्मक अभिव्यक्ति दिएको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले यस्ता अभिव्यक्तिलाई निर्वाचनको स्वच्छता र सामाजिक सद्भावविरुद्ध मान्दै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई पनि आयोगले दलको झण्डाको प्रयोग र मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी मानिस सहभागी गराएको विषयमा स्पष्टीकरण सोधेको थियो । खरेलले आफूले अन्जानमा आचारसंहिताविपरीत काम गरेको स्वीकार गर्दै आगामी दिनमा पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाइसकेको आयोगले जनाएको छ ।
व्यक्तिसँगै संघसंस्थामाथि पनि आयोगको निगरानी बढेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । एन्फालाई निर्वाचनसँग सम्बन्धित गतिविधि र राखेपलाई खेलकुदसम्बन्धी सम्मेलनको विषयमा आचारसंहिता उल्लंघन भएको आशंकामा स्पष्टीकरण माग गरिएको हो ।
आयोगका अनुसार दोस्रोपटक पनि ती नै व्यक्ति वा संस्थाले आचारसंहिता उल्लंघन गरेमा २४ घण्टे स्पष्टीकरण सोधिनेछ । त्यसपछि पनि सुधार नदेखिए जरिबानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गर्न सक्ने कानुनी अधिकार आयोगसँग रहेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति आक्षेपपूर्ण, भ्रामक र घृणात्मक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा बालेन साहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर र तथ्यहीन आरोप भएको उल्लेख गरिएको छ । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने खतरा रहेको दाबी उजुरीमा गरिएको छ ।
निर्वाचन आचारसंहिता, संविधान र प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै उजुरीकर्ताले उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिताविपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरेका छन् ।
उजुरीमा महोत्तरीलगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै यो कार्य पनि निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गरिएको छ । निर्वाचन आयोगले बढ्दो उजुरीलाई गम्भीर रूपमा लिँदै निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्ने स्पष्ट पारेको छ ।