विराटनगर । कोशी प्रदेशसभा (संसद)को हिउँदे अधिवेशन आह्वान गर्ने तयारी थालिएको छ । जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते विराटनगरस्थित देवकोटा चोकमा रहेको प्रदेशसभा भवनमा आगजनी गरिएपछि प्रदेशको संसद बैठक बस्न सकिरहेको छैन ।
आगजनी, तोडफोड र लुटपाटपछि ठप्प बनेको प्रदेशसभा अब हिउँदे अधिवेशनतर्फ अघि बढ्ने तयारीमा पुगेको हो । भवनमा आगजनी गरिएपछि प्रदेशसभालाई अस्थायी रूपमा मोरङको कटहरी गाउँपालिका–१ जमटोकीस्थित फलफूल तथा कृषि थोक बजारमा सारिएको थियो । तर, प्रदेशसभाको अधिवेशन आह्वान गरेर बैठक भने बस्न सकिरहेको छैन । आगजनीपछि पहिलोपटक अधिवेशन आह्वान हुन लागेको हो ।
फलफूल तथा कृषि थोक बजारमै अस्थायी कार्यस्थल बनाएर प्रदेशसभा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताए । उनका अनुसार प्रदेशसभाको बैठक भने विराटनगरस्थित वीरेन्द्र सभागृहमा बसाउने तयारी भइरहेको छ ।
‘प्रदेशसभाको सबै काम कारबाही फलफूल तथा कृषि थोक बजारकै संरचनाबाट सञ्चालन हुन्छ । तर, अधिवेशन आह्वानपछि प्रदेशसभाको बैठक भने अस्थायी रूपमा वीरेन्द्र सभागृहमा बस्ने छ । त्यसको टुंगो लगाएर माघ २० देखि २५ गतेभित्रमा अधिवेशन आह्वान हुन्छ,’ मन्त्री पराजुलीले भने ।
प्रदेशसभा सचिवालयका अनुसार आगजनीले मूल भवन पूर्णरूपमा ध्वस्त भएपछि वैकल्पिक स्थानको खोजी गरिएको थियो । त्यसैक्रममा लामो समयदेखि सञ्चालनमा नआएको कटहरीको कृषि थोक बजार परिसरलाई प्रदेशसभा र सचिवालय सञ्चालनका लागि उपयुक्त ठहर गर्दै कात्तिक २६ गतेबाट अस्थायी रूपमा त्यहाँ सारिएको हो ।
सचिवालयको प्रशासनिक काम कृषि बजारको प्रशासनिक भवनबाट सञ्चालन गरिने र वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक बसालिने व्यवस्था मिलाइने मन्त्री पराजुलीको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अबको केही दिनभित्रमै प्रदेशसभाको हिउँदे अविधेशन आह्वान गर्ने तयारीमा सरकार जुटेको छ ।
प्रदेशसभा भवन आगजनीपछि सचिवालयका अभिलेख, फर्निचर, कम्प्युटर, प्रिन्टर, क्यामेरा, एसीलगायत सामग्री जलेर नष्ट भएका थिए भने आगोले नछोएका सामग्रीसमेत लुटपाट गरिएको थियो । सचिवालय परिसरमा रहेका ९ वटा सवारीसाधन पूर्ण रूपमा जलेका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ वटा गाडीसमेत ध्वस्त भएका थिए ।
आगजनीले भुइँतला, पहिलो तला र बैठक भवन पूर्ण रूपमा नष्ट भएपछि पुरानो संरचना प्रयोगयोग्य भएन । कटहरीमा निर्माण गरिएको फलफूल तथा कृषि थोक बजार १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा निर्माण भएको संरचना हो ।
२०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । तर, प्रदेश सरकारले सञ्चालन गर्न नसकेपछि जिम्मेवारी कटहरी गाउँपालिकालाई दिइएको थियो । गाउँपालिकाले अहिले प्रदेशसभाको प्रशासनिक काम कारबाही सञ्चालनका लागि निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
यता, प्रदेशसभाको हिउँदे अधिवेशनको तयारीसँगै सत्तारूढ नेकपा (एमाले)मा प्रमुख सचेतक कसलाई बनाउने भन्ने विषयले चर्चा पाएको छ । प्रमुख सचेतक विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि एमाले प्रमुख सचेतकविहीन छ ।
एमाले स्रोतका अनुसार हाल ३ जना प्रदेशसभा सदस्य प्रमुख सचेतकको दौडमा छन् । तीमध्ये तेह्रथुमका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाललाई अग्रपंक्तिमा राखिएको छ । मन्त्री बनाउने आश्वासन पूरा हुन नसकेपछि दुलाललाई प्रमुख सचेतक बनाएर व्यवस्थापन गर्ने तयारीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की रहेको बताइन्छ ।
२०३५ सालदेखि निरन्तर पार्टी राजनीतिमा सक्रिय दुलाल २०५४ सालमा जिल्ला विकास समितिको सभापति भइसकेका अनुभवी नेता हुन् । २०७९ सालको निर्वाचनमा तेह्रथुम क्षेत्र नम्बर १ (१) बाट निर्वाचित उनी हाल एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुन् । प्रदेशसभाभित्र नागरिक र जनजीविकाका सवालमा सक्रिय रूपमा बोल्दै आएका दुलाललाई संगठन र संसद दुवै पक्ष बुझेको नेता मानिन्छ ।
त्यसैगरी, सुनसरी क्षेत्र नम्बर १ (२) बाट निर्वाचित रमेश बस्नेत र झापाबाट निर्वाचित प्रदेशसभा सदस्य छवि चुँडालको नाम पनि प्रमुख सचेतकका लागि चर्चामा छ । मुख्यमन्त्री स्रोतका अनुसार यी ३ जनामध्ये १ जनालाई प्रमुख सचेतक बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
सत्तारुढ नेपाली कांग्रेस पनि सचेतकविहीन अवस्थामा छ । कांग्रेसकी सचेतक शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएपछि उक्त पद रिक्त छ । प्रदेशसभा अधिवेशन नजिकिँदै गर्दा दलहरुमा संसदीय व्यवस्थापन कसले सम्हाल्ने भन्ने विषयले थप चासो सिर्जना गरेको छ ।