
विराटनगर। मोरङको धनपालथान गाउँपालिका–५ निवासी ७ वर्षीया नाबालिकाको हत्या प्रकरणमा उनका मावलीपट्टिका काका अनिष सरदारविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार, पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको हो। प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा अनिषले घटना भएको दिन मदिरा सेवन गरेको स्वीकारेका छन्, तर बालिकाको हत्या र जबरजस्ती करणीमा आफू संलग्न नरहेको दाबी गरेका छन्।
प्रहरीले विभिन्न शारीरिक परीक्षण रिपोर्ट, पोस्टमार्टम रिपोर्ट तथा घटनास्थलबाट संकलित प्रमाणहरूको अध्ययन गरिरहेको छ। डिएसपी चुँडालले भनिन्, “काकाकै संलग्नता हो कि भन्ने प्रारम्भिक आशंका छ, तर प्रमाणसहित पुष्टि गर्नुपर्ने हुन्छ। त्यसैका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी छ।”
शव परीक्षणका लागि बालिकालाई विराटनगरस्थित कोशी अस्पतालमा लगिएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको थप विवरण खुल्ने प्रहरीको विश्वास छ।
प्राप्त जानकारी अनुसार, घटनाको दिन मृतक बालिका आफ्ना आमाबुवाबाट हजुरआमाको जिम्मामा थिइन्। सोही क्रममा हराएकी बालिका शनिबार बिहान आफ्नै घरनजिकै मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि गाउँभर त्रास फैलिएको छ।
पीडित पक्षकी आफन्त अमृताकुमारी चौधरीले यस घटनाले गाउँमा गहिरो असर पारेको बताइन्। “घटना अत्यन्त दर्दनाक छ। निष्पक्ष अनुसन्धान होस् र दोषीले उचित सजाय पाओस् भन्ने हाम्रो चाहना हो,” उनले भनिन्।
प्रहरीले हालसम्म संकलन गरेका प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा अनिष सरदारविरुद्ध मुद्दा अगाडि बढाउने तयारी गरेको जनाएको छ। घटनाले समग्र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।