दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशको खोटाङ र मधेश प्रदेशको सप्तरीमा सोमबार छुट्टाछुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल र स्कुटर चालकको मृत्यु भएको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ अन्तर्गत दौत्यखोलास्थित सडकमा कदुवाबाट ओखलढुंगातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । बा.प्र ०२–०२९ प ९७२७ नम्बरको मोटरसाइकल सोमबार दुर्घटनामा पर्दा चालक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का ३५ वर्षीय मोतीराज राई गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि रुम्जटार अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, सप्तरीको सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित सडकमा ट्रक र स्कुटर ठोक्किँदा अर्को दुर्घटना भएको छ । ना ५ ख ८५८० नम्बरको ट्रकले प्रदेश ०५–००१ प ६८७३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक उदयपुरको त्रियुगा नगरपालिका–४ का ३२ वर्षीय रूपक बस्नेत गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान सिराहामा भर्ना गरिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।