पूर्वी नेपालको दौडाहामा खुवालुङसम्म पुगे बालेन : मौन  तर सन्देशमूलक

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्व मेयर बालेन्द्र साह (बालेन) पूर्वी नेपालको दौडाहामा व्यस्त देखिएका छन् ।

मोरङ, सुनसरी र उदयपुरलाई समेट्दै उनी एकदिने व्यस्त कार्यक्रमका साथ बुधबार विभिन्न स्थानीय तहमा कार्यकर्ता, समर्थक र उम्मेदवारसँग प्रत्यक्ष भेटघाटमा सक्रिय भए । बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरु भएको दौडाहा पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगर पुगेको थियो । रंगेलीबाट विराटनगर प्रवेश गरेका बालेन, पार्टी कार्यकर्ता र समर्थकसँग गाडीबाट हात हल्लाउँदै र घण्टी बजाउँदै सुनसरीतर्फ अघि बढ ।विराटनगरमा लामो समय नबसिकन उनी सुनसरी हुँदै उदयपुर पुगे ।

उर्लाबारीमा आयोजित भेटघाट कार्यक्रममा बालेनले सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई विकासको आधारका रूपमा अघि राखे । उनले राज्य संयन्त्रभित्र व्याप्त बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावप्रति कडा टिप्पणी गर्दै नागरिक स्वयं सचेत नभएसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा राखेका थिए । उनका अनुसार स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुन्छ ।

इटहरीमा आयोजित स्वागत समारोहमा एक अप्रत्याशित दृश्य पनि देखियो । आफ्नै पार्टीका उम्मेदवार लालविक्रम थापाले बालेनलाई माला लगाइदिने प्रयास गर्दा बालेनले त्यसलाई हातले हुत्याइदिएका थिए । थापा रास्वपाबाट सुनसरी–२ का उम्मेदवार हुन् । यो घटनाले उपस्थित कार्यकर्ता र नेताहरूलाई चकित बनायो र स्थानीय राजनीतिक वृत्तमा चर्चा बटुल्यो ।

बालेनको दौडाहा पार्टी संगठन सुदृढीकरण, मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार, स्थानीय राजनीतिक अवस्था मूल्यांकन र आगामी निर्वाचनको तयारीमा केन्द्रित छ । उनी प्रायः मौन रहन्छन् । उनको व्यवहारिक र नागरिक केन्द्रित दृष्टिकोणका कारण परम्परागत राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका बालेन, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन् । बालेनको चुनावी शैली परम्परागत भाषण वा आरोप–प्रत्यारोपबाट टाढा छ । उनी छोटो उपस्थितिमा मतदातासँग हात हल्लाउँछन्, घण्टी बजाउँछन् र अर्को गन्तव्यतर्फ लाग्छन् ।

विशेषतः बुधबार बालेन ‘खुवालुङ’ पुगेका थिए । जुन स्थल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागि ‘तगारो’ देखाएर फुटाउने घोषणा गरेका थिए । बालेनले खुवालुङलाई किराँती तथा नेपाली समुदायको पवित्र स्थल र सभ्यताको प्रतीकको रूपमा प्रस्तुत गर्दै सांस्कृतिक–आध्यात्मिक मूल्यलाई जोड दिए । यो कदमलाई राजनीतिक विश्लेषकहरूले बालेनको ‘सांस्कृतिक प्रहार’ र पूर्वी नेपालको भावनात्मक मनोविज्ञानलाई बुझ्ने रणनीति भनेर व्याख्या गरेका छन् ।

उनको दौडाहा कार्यकर्ता र समर्थक अघि प्रत्यक्ष उपस्थित हुनुका साथै धार्मिक र सांस्कृतिक तीर्थस्थलहरूमा केन्द्रित छ । ताप्लेजुङको पाथिभरा मन्दिरदेखि तेह्रथुमका स्थानीय मन्दिर, झापाको दुर्गा मन्दिर र सुनसरीको बराहक्षेत्रसम्म पुग्दा बालेन आफूलाई ‘आधुनिक तर आध्यात्मिक’ नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । राजनीतिक विश्लेषक गिरिश भट्टराईका अनुसार यो बालेनको ‘सेन्टिमेन्टल मार्केटिङ’ हो । जसले युवासँगै परिपक्व मतदातालाई पनि आकर्षित गर्ने रणनीति हो ।

रास्वपाका नेता गणेश कार्कीका अनुसार बालेन मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने बाध्यता र छोटो उपस्थितिका कारण द्रुत गतिमा दौडिएका छन् । यो शैलीले मतदातामा कौतूहल र उत्साह उत्पन्न गरेको छ । झापा–५ मा ओलीको वाक्पटुता र बालेनको सांकेतिक शैलीबीच रोचक द्वन्द्व बनेको छ ।

बालेनको राजनीतिक शैली भाषणमा केन्द्रित छैन । उपत्यकाबाहिर पुगेर मतदातासँग प्रत्यक्ष जोडिनुले रास्वपाका उम्मेदवारहरूको आत्मविश्वास बढाएको छ । राजनीतिशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलका अनुसार बालेनले सेल्फी र भेटघाटमार्फत नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गरिरहेका छन् ।

यसअघि पूर्वी नेपालको दौडाहापछि बालेन माघ १० गते काठमाडौं फर्किएका थिए । सोमबार साँझ झापा झरेका उनी फेरि मतदाता र कार्यकर्तासँग प्रत्यक्ष संवादका लागि पूर्वी नेपाल भ्रमणमा जुटेका छन् । उनले त्यतिबेला मधेश प्रदेशको राजधानी जनकपुरबाट यात्रा सुरु गरेर इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटासम्म पुगेका छन् ।

उनको मौन, तर सन्देशमूलक राजनीतिक शैली, धार्मिक–सांस्कृतिक स्थलको भ्रमण, र प्रत्यक्ष भेटघाटले पूर्वी नेपालको चुनावी वातावरणमा उत्साह र राजनीतिक चर्चा उत्पन्न गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनले बालेनको यो ‘साइलेन्स’ र सांकेतिक रणनीतिको प्रभाव देखाउने निश्चित देखिन्छ ।